परासी, भदौ ८ । पश्चिम नवलपरासीबाट भारत तर्फ तस्करी बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै सोमबार देखि जिल्लामा हरियो वा सेतो मटर (केराउ), छोहडा र मरिच ओसार पसार र ढुवानीमा प्रतिबन्ध गरिएको छ ।
सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकद्धारा जारी सुचनामा उल्लेख छ । महामारीको समयमा देशका विभिन्न नाका हुँदै पश्चिम नवलपरासीबाट मटर, छोहडा र मरिच ढुवानी गर्दै आवश्यकता भन्दा बढी भण्डारण गर्ने गरेको पाइएको छ ।
रातको समयमा भारत तर्फ लुकुछिपी निकासी गर्दा कोरोनाको जोखिम झनै बढेको भन्दै सुरक्षा समितिको बैठकले जिल्ला भित्र पनि ढुवानीमा प्रतिबन्ध लगाएको हो ।
साथै जिल्लामा प्रशासनले लगाएको निषेधाज्ञा जारी रहेको हुँदा राती ९ बजे पछि घर बाहिर ननिस्कन आग्रह गरिएको छ निस्कनै परे प्रहरीको कन्ट्रोल रुमको नम्बर १०० मा जानकारी गराएर मात्र निस्किन पनि आग्रह गरिएको छ ।
यस सूचनाको अवज्ञा गरे सुरक्षाकर्मीले तत्काल पक्राउ गरि संक्रामक रोग ऐन, २०२० को दफा ३ तथा प्रचलित कानून बमोजिम कारवही हुने जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जारी गरेको सुचनामा भनिएको छ ।
पछिल्लो समय पश्चिम नवलपरासीका सिमावर्ती क्षेत्रमा रहेका घरहरुमा भारत तर्फ तस्करीका लागि मटर, छोहडा र मरिचको भण्डारण गर्ने गरिएको छ । प्रहरीले पछिल्लो पटक तस्कर माथी कडा निगरानी गरिरहेको र तस्करी नियन्त्रणमा ल्याउने दाबी पनि गरेको छ । पश्चिम नवलपरासीबाट भारत तर्फ समान तस्करीका लागी मुलुकको प्रदेश एक र दुई बाट समेत समान आउने गर्दछ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अजय के.सि.का अनुसार २७ कि.मि क्षेत्र रहेको बोर्डर क्षेत्रका दसगजा नजिकका घर हरुमा ब्यापारीले लाइसेन्सको आडमा अवैध रुपमा भण्डार गर्ने तथा रातिको समयमा सिमा पारीका क्षेत्रमा तस्करी गरि पठाउने कार्यलाई रोक्ने कार्य अब थप कडाईका साथ लागू गर्ने बताउदै यश निर्णयले अब तस्करी नियन्त्रणकार्यमा थप सहजता भएको र दसगजा क्षेत्रमा वारि पारी गरि तसकरी रोकथाम तथा सो बाट जटिल रुपमा कोरोना संक्रमण बड्ने सम्भावनामा समेत कमि आउने बिश्वास व्यक्त गर्नु भयो।