Wednesday 3rd March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

मिथुन कुँवरले खिचेको फोटोे उत्कृष्ट

२०७६ पुष ६, आईतवार सुस्तानेपाल .कम

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेका’े तस्बिरले प्रथम स्थान हासिल गरेको छ । यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हासिल गर्दा दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ । स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ ।


नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई सम्बन्धन गर्दै आएको छ भने कला विकास र यसको उन्नयनमा निरन्तर विविध काम गर्दै आएको छ । यसैक्रममा “कला फोटोग्राफी”को विशिष्टीकरणका लागि प्रतिष्ठानले “सुन्दर नेपाल खुसी नेपाली” शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो ।


प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए । नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायकमण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरु छानेको हो । यस प्रतियोगिताका प्रथमले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
वरिष्ठ फोटोग्राफर अशेष राजवंशीले नेपालमा फोटोग्राफी संस्कृतिको विकास हुँदै छ भन्ने यस प्रतियोगिताले देखाएको बताउँदै फोटो खिच्ने हेर्ने तरिका र देखाउन खोजेको कुरा स्पष्ट पार्ने तस्बिर नै राम्रो हुने बताउनुभयो ।


फोटोहरु राम्रो आएको छ, प्रथम हुने फोटोले सरल जनजीवन र खुशीलाई सरल रूपमा उतारिएको छ भने नेपाली परिवेश र मौलिकता झल्किएको केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकारले बताउनुभयो ।
देशभरबाट प्राप्त फोटोहरुले नेपालको कलासंस्कृति, प्राकृतिक स्रोत, सम्पदा, समृद्धि, खुसी र सुख झल्कने फोटोहरु रहेको बताउँदै निर्णायकमण्डलका अध्यक्ष वरिष्ठ फोटोग्राफर मणि लामाले भन्नुभयो, ‘थिमअनुसार राम्रा तस्बिरहरु आएका छन्, तर हामीले जे छानेका छौं यसबाट म पूर्ण सन्तुष्ट छु ।’


फोटोका सर्जकलाई राष्ट्रिय स्तरको प्रतियोगितामा समावेश गराउने मात्र नभई उत्कृष्ट सर्जकलाई पुरस्कारबाट प्रोत्साहित गर्ने र “कला फोटोग्राफी”को व्यापकतालाई अझ बढाउने यसको उद्देश्य रहेको प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले बताउनुभयो । यसै क्रममा उहाँले फोटोग्राफीका क्षेत्रमा ख्यातिप्राप्त फोटोग्राफरहरूलाई समेत एकैथलोमा गोलबद्ध गर्ने सोच राख्दै यो प्रदर्शनीले हरेक वर्ष आयोजना गरिने राष्ट्रिय कला प्रदर्शनीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी यही २०७७ पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ । यसै कार्यक्रममा प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण पनि गरिनेछ । फोटो प्रदर्शनी २०७७ पौष १७ सम्म चल्नेछ ।


en_USEnglish